हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएको छ। शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको उक्त कार्यक्रमको गाउँपालिका अध्यक्ष लालकेश जैसीको प्रमुख आतिथ्यमा र गाउँपालिका उपाध्यक्ष तथा साक्षर गाउँपालिका घोषणा कार्यक्रमका संयोजक सुरेन्द्र थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
साक्षरता सिकाई क्षेत्रमा निरन्तरता भन्ने मुल नाराका साथ गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी साक्षर गाउँपालिका घोषणा गरेको हो ।
गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लालकेश जैसीले साक्षर गाउँपालिका घोषणा गरेका छन् । अध्यक्ष जैसीले साक्षर गाउँपालिका घोषणा गर्दै भने, ‘गाउँपालिकालाई साक्षर गाउँपालिका बनाउनका लागि मिति २०७९/०९/१५ गतेदेखि २०८०/०१/१५ गतेसम्म यस गाउँपालिकाले वडा नं १ देखि ५ सम्म ६१ टोलमा ६१ जना सहजकर्ताले साक्षरता कक्षा सञ्चालन गरी उक्त सबै टोलमा आवश्यक प्रक्रिया अनुसार अनुगमन गरी लक्षित समुह १५-५९ वर्ष उमेर समूहको जम्मा जनसङ्ख्या मध्ये ९५ प्रतिशत जनसङ्ख्या अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजिकरण पुस्तिका २०७५ को मापदण्डअनुसार साक्षर भएको हुनाले यस गाउँपालिकालाई आजको मितिबाट लागु हुनेगरी साक्षर गाउँपालिका घोषणा गर्ने निर्णय गरियो ।’
गाउँपालिकाभित्र रहेका १८ ओटा विद्यालयमध्ये १४ ओटा विद्यालय सहभागी रहेको उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी र स्थानीय सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।
गाउँपालिकाले साक्षर गाउँपालिका घोषणा कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत माविस्तरिय वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरेको थियो । वक्तृत्वकला प्रतियोगितामा ३ ओटा विद्यालयका ३ जना छात्र र ३ जना छात्रा गरी ६ जना विद्यार्थीहरूको सहभागिता थियो ।
कार्यक्रममा उत्कृष्ट विद्यालय, उत्कृष्ट प्रधानाध्यापक, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी, ६१ जना सहजकर्ता र अन्य विधाका उत्कृष्ट व्यक्तिलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।













