समन्वयकारी भूमिका भएमा तस्करी अन्त्य हुन्छ : अर्थमन्त्री डा. महत

जनता संवाददाता
२०८० श्रावण ११ गते, बिहीबार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिनुभएको छ । आज विमानस्थल र भन्सार अनुगमनपछि मन्त्री डा। महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे ।

“अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ”, उनले भने ।

मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा के कस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिनु भएको थियो ।

“अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ”,उनले भने, “सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ ।”

मन्त्री डा. महतले भने, ‘कार्गोलगायत भन्सारका सबैतिर अवलोकन गयौं, कसरी चलेको छ, सिस्टमका बारेमा बुझ्यौं । अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विभिन्न निकायले काम गरिरहेको छ । यसमा आ–आफ्नो जिम्मेवारी छ ।’

मन्त्री डा. महतले भने, ‘राजश्व अनुसन्धान, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी र सेना पनि छ । नागरिक उड्डयन मन्त्रालयले नै सञ्चालन गरेको छ । सबैको समन्वयकारी भूमिका हुनु अनिवार्य छ । एकअर्कालाई सहयोग गर्नुपर्छ, त्यो भयो भने मात्र गैरकानुनी गतिविधि कम भएर जान्छ ।’

अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरुले नयाँ नयाँ प्रयोग गरिरहेका हुन्छन् । त्यसकारण हामीले पनि प्रविधिलाई त्यहीअनुरुप अपग्रेट हुनुपर्ने मन्त्री डा. महतको भनाइ थियो ।

उनले अहिले असाधारण गतिविधि भइरहेको छ, अनुसन्धानमा जोडिएका साथीहरुले यसबारे निगरानी गर्नुपर्छ । यही निगरानीका आधारमा सूचना आदान–प्रदान गर्नुपर्छ । यदि यसो भयो भने अपराध गर्ने मानसिकता भएका व्यक्तिको प्रयास विफल हुने बताए ।

सुन तस्करीको घटनामा पनि सुचनाकै आधारमा पक्राउ परेको बताउँदै मन्त्री महतले भने, ‘सबैको भूमिका यसमा महत्वपूर्ण हुन्छ, एउटैको मात्र भूमिकाले राम्रो नतिजा आउँदैन ।’

भन्सारसँग जोडिएका साथीहरु उच्च सर्तकताका साथ समन्वयकारी भूमिका निर्वाह गरेर काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने, ‘नेतृत्वमा नयाँ साथीहरु आउनु भएको छ, उहाँहरुलाई चाहिने प्रविधि अपग्रेट गर्नका लागि अर्थ मन्त्रालय पूरा सहयोग गर्न चाहन्छ ।’

प्रकाशित मिति : २०८० श्रावण ११ गते, बिहीबार


Scroll to Top

Janata Media