सामाजिक विद्वेष फैलाउने तत्वहरू अहिले पनि क्रियाशील छन्ः केपी ओली

जनता संवाददाता
२०८० भाद्र २३ गते, शनिबार

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैलाउने तत्वहरू अहिले पनि क्रियाशील रहेको टिप्पणी गरेका छन् ।

जात/जात, वडा/वडा, पालिका/पालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैलाउने काम गरिरहेको ओलीको भनाइ छ ।

तीजको अवसर पारेर पार्टीनिकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले हाम्रा चाडपर्वहरूसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको पनि बताए ।

अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सद्भाव कायम गर्नु रहेको उल्लेख गर्दै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यामको रुपमा काम गरिरहेको पनि स्मरण गराए । तीज पर्वले महिलाहरूमा सबैभन्दा बढी खुसीयाली ल्याएको भन्दै उनले त्यसो हुनु सबैका लागि खुसीको कुरा भएको पनि बताए ।

अध्यक्ष ओलीले चाडपर्वहरूलाई नेपालीहरूले उत्सवको रुपमा मनाउने गरेको र त्यसले सामाजिक प्रबन्धहरूलाई व्यवस्थित बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको  बताए ।

प्रकाशित मिति : २०८० भाद्र २३ गते, शनिबार


Scroll to Top

Janata Media