अज्ञात व्यक्तिको गोली लागेर एक जनाको मृत्यु

जनता संवाददाता
२०८० आश्विन १० गते, बुधबार

बारा । अज्ञात ब्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी नजराज सापकोटाले बताए ।

बाराको पचरौता नगरपालिका ६ मा मंगलबार साँझ करिब ७ बजे गोली चलेको आवाज सुनियो, मान्छे पनि ढलेको छ, खबर प्राप्त भएपछि यसको पूर्ण विवरण लिन प्रहरी उपरीक्षक ९एसपी० सुरेश प्रसाद काप्mलेसहितको प्रहरी टोली घटनास्थलमा पुगेको उनले जानकारी दिए ।

मानिस ढलेको छ, सुनियो, गोलीबाट नै हो, कि यकिन भन्न नसकिने प्रमुख जिल्ला अधिकारी सापकोटाले भने ।

पचरौता नगरपालिका वडा नम्बर–६ चिकनी पकडिया टोलस्थित रहेका दशगाजा नजिकै लक्ष्मीनिया भनिने पोखरीको डिलमा अज्ञात व्यक्तिले चलाएको गोली प्रहारबाट नाम ठेगाना यकिन नभएको एक युवकको मृत्यु भएको पूर्व नगरप्रमुख रमेशप्रसाद यादवले जानकारी दिए ।

युवकको पहिचान नखुलेको तथा यस विषयमा अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।

यसैगरी, सोही ठाउँ वडा नम्बर १ मा पर्ने दशगजा क्षेत्रमा सोमबार बिहानै पूर्वसशस्त्र प्रहरी जवान ३४ वर्षीय अमरेशकुमार सिंहको हत्या गरिएको अवस्थामा शव भेटिएपछि घटनामा संलग्न भएको आशंकामा दुईजना भारतीय नागरिक सहित चारजनालाई अनुसन्धानका लागि बारा प्रहरीले पक्राउ गरेको छ ।

पचरौता गाउँको दक्षिणर्तफ नेपाल भारतबीचको सिमानामा आइतबार राति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी सिंहको हत्या गरेर फालिएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका क्रममा सिंहको हत्यामा संलग्न रहेको आरोपमा भारतीय नागरिक राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०८० आश्विन १० गते, बुधबार


Scroll to Top

Janata Media