काठमाडौँ । पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा-३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई दुई लाख जरिवाना गरेको छ।
काठमाडौँ महानगरले आज गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेय पदार्थ ९स्लाइस० फेला परेपछि उक्त उत्पादक कम्पनीलाई कारबाही स्वरुप दुई लाख जरिवाना गरिएको काठमाडौँ महानगर कृषि तथा पशुपन्छी विभागका प्रमुख डा। अवधेश झाले जानकारी दिए।
प्रमुख झाका अनुसार अनुगमनको क्रममा दोषी ठहर र सञ्चालकसँग कुरा गर्दा स्पष्ट जवाफ नदिएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो। उक्त जरिवाना रकम आगामी एक साताभित्र बैंक खातामा जम्मा गर्न काठमाडौँ महानगरले आग्रह गरेको छ। तोकिएको समय सीमाभित्र जरिवाना रकम नबुझाए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने कामपाले स्पष्ट पारेको छ।
अनुगमन टोलीले उक्त कम्पनीलाई बजारमा लगिएका सामग्री फिर्ता लैजाने व्यवस्था गर्न, ब्याकिङपछि रासायनिक, भौतिक दुवैतर्फ गुणस्तर कायम गर्न, एक पटक बजार लगिएका सामग्री पुनः उत्पादन भए पुनः परीक्षण गरी निर्देशन दिएको छ।
चालु आर्थिक वर्षमा काठमाडौँ महानगरले स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार रकम विनियोजन गरेको छ। जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वस्थ्यकर बनाइ राख्नका लागि तीन करोड ५० लाख रहेका छ।
बजारलाई थप व्यवस्थित गर्न काठमाडौँ महानगरले गत साउन महिनाभित्र अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ। विगतमा वर्षहरूमा काठमाडौँ महानगर ले चाडबाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो। मौसमी रूपमा गरिएको अनुगमनको कामले प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले काठमाडौँ महानगरले चाडबाड सुरु हुनु केही महिना अघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ।







