सुदूरपश्चिम एमालेमा सबै पदाधिकारी सर्वसम्मत,अध्यक्षमा अछामका जैशी

जनता संवाददाता
२०८० आश्विन २५ गते, बिहीबार

काठमाडौँ । अन्ततः नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष लगायत पाँचवटै पदाधिकारी पदमा सर्वसम्मत भएको छ ।

प्रमुख निर्वाचन अधिकृत पदम पालकाअनुसार अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द तथा उपसचिवमा कञ्चनपुरका नरबहादुर विक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।

उपसचिवमा भरत साउद पक्षका विक र विष्टको पक्षमा सहमति जुटेपछि साउदले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै पदाधिकारीमा सर्वसम्मत भएको हो ।

को हुन् अध्यक्षमा निर्वाचित जैसी ?
अछाम जिल्लाका कृष्णप्रसाद जैसी सुदूरपश्चिम प्रदेशमा कम्युनिस्टहरुबीच परिचित नाम हो । शिक्षण पेसा छोडेर राजनीति रोजेका जैसी एमालेको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएर काम गरिसकेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेका जैसी तत्कालीन प्ररायुसंघ (हालको युवा सङ्घ नेपाल) केन्द्रीय कमिटी (अध्यक्ष) भएर समेत काम गरेका थिए ।

२०५४ सालको स्थानीय चुनावमा जिविस सभापति भएका उनी लामो समय जिविस महासङ्घको प्रवक्ता र एसिया प्यासेभिकको सहअध्यक्ष भएर काम गरेका थिए ।

प्रकाशित मिति : २०८० आश्विन २५ गते, बिहीबार


Scroll to Top

Janata Media