राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस भोलिदेखि

चक्र दानी
२०७९ भाद्र २० गते, सोमबार

काठमाडौं  । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजकसमेत रहेका आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् ।

टिम स्पर्धामा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानका तीनै स्पर्धामा समान नगद पुरस्कार राखिएको छ । पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।

टिम च्याम्पियनलाई रनिङ सिल्ड प्रदान गरिने छ । पहिलो संस्करणमा विराटनगर महानगरपालिकाको वडा ३ टिम च्याम्पियन बनेको थियो ।

प्रतियोगितामा ५ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा समाजसेवी एवं खेल प्रेमी पूर्णशंकर श्रेष्ठ छन् ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा माल्दिभ्समा गत मे ९ देखि ११ तारिखसम्म भएको दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता खेलाडीसहित १२ सदस्यीय टोलीलाई सम्मान गर्ने प्रतियोगिता संयोजक महर्जनले जानकारी गराए । पाँचदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

प्रकाशित मिति : २०७९ भाद्र २० गते, सोमबार


Scroll to Top

Janata Media