राष्ट्रपति भण्डारीले भनिन्, महारानी एलिजाबेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता हुन् ।

जनता संवाददाता
२०७९ भाद्र २५ गते, शनिबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाएकी छन् । उनले महारानी एलिजाबेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता भएको बताएकी छन् ।

काठमाडौंस्थित बेलायती राजदूतावासमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनबाट मलाई अत्यन्तै दुःख लागेको छ । नेपाली जनता, नेपाल सरकार तथा म स्वयंको तर्फबाट दिवंगत महारानीप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै महाराज चार्ल्स तृतीय, शाही परिवार, बेलायत सरकार र मैत्रीपूर्ण बेलायती जनताप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’’

राष्ट्रपति भण्डारीले महारानीको निधनबाट बेलायतले आफ्नो समर्पित अभिभावक र नेपालले एक पुरानो मित्र तथा शुभचिन्तक गुमाएको उल्लेख गरेकी छन् ।

 

प्रकाशित मिति : २०७९ भाद्र २५ गते, शनिबार


Scroll to Top

Janata Media