विकटता, दुख र भोकसँग जुधेर जनताले दिएको म्याण्डेडलाई न्याय दिन लागिरहेका छौँ र लाग्छौँ । – अदानचुली उपाध्यक्ष कर्ण रोकाया

चक्र दानी
२०७९ आश्विन ४ गते, मंगलवार

काठमाडौँ । हुम्लाको अदानचुलीका उपाध्यक्ष कर्ण रोकाया एक यस्ता पात्र हुन्, उनी आफ्नो पार्टीभित्र मात्र नभएर जनताका माझ र अन्य पार्टीका नेता कार्यकर्ताका बिच उत्तिकै लोकप्रिय छन् । उनले अदानचुली गाउँपालिकाको उपाध्यक्षको रुपमा पदभार ग्रहण गरेको ४ महिना पुगिसक्दा यस अवधिभित्र रोकाया लगायत उनको टिमले गरेका कामहरुका बारेका जनता मिडियाका प्रबन्ध निर्देशक चक्र दानीले गरेको सम्पादित अंश :

तपाईँ निर्वाचित भएको झण्डै ४ महिना भइसक्यो, यो ४ महिनाभित्र के-के काम गर्नुभयो ?
चार महिना भयो, चार महिना भित्र लौँठी कालागाड सडक खण्ड, पाम्स काँख्या बारीगाउँ सडक खण्ड, रिल्म बिगोठी सडक खण्ड र श्रीनगर कल्खे सडक खण्ड गरी चार ओटा रोडको काम अगाडी बढाईरहेका छौँ । यी सडक खण्डको काम धमाधम भइरहेका छन् । मुख्य कुरा अदानचुलीका गाउँगाउँमा सडक विस्तार गर्ने पहिलो लक्ष्य भएकाले बढी प्राथमिकता रोडमा लगायौँ । साबिकको श्रीनगर र हालको अदानचुली १, २, ३ मा खानेपानीको समस्या भएकाले खानेपानीको समस्या समाधान गर्न जोड गर्यौँ । र “अदानचुलीको नारा घर घरमा धारा” भन्ने लक्ष्य र उद्देश्य लिएका थियौँ त्यो पनि ५० प्रतिशत काम सकिएको छ । जनतालाई अहिले त्यति खानेपानीको समस्या भोग्नुपरेको छैन । र चार महिनामा के त्यति धेरै गर्न सकिन्थ्यो र ? तर हामीले गर्न सक्ने जति गर्यौँ ।

जुन चार ओटा सडक खण्ड, कहिलेसम्म सञ्चालनमा आइसक्नेगरी काम हुँदैछ ?
हामी सबै सडक खण्डको काम यहि वर्षभित्र सञ्चालनमा ल्याइसक्ने गरी काम गरिरहेका छौँ । त्यसअन्तर्गत कल्खेको गाउँमा दशैँ अगाडी नै गाडी गुडाउने लक्ष्य लिएका छौँ । कल्खेको फडेरा गाउँ सम्म नै गाडी पुग्छ । रोड बनिसकेको छ, एउटा सानो चट्टान छ । त्यो चट्टान फोर्न पनि सुर गरिसकेका छौँ । हिजो अस्ति म दुई तिन चोटी म त्यहिँ गएर अनुगमन गरेको थिँए । जेसिबी लगाएर काम भइरहेको छ । यदि त्यो जेसिबीले पनि चट्टान फोर्न सकेन भने, अर्को विकल्प खोजेर भएपनि दशैँ अगाडी नै कल्खेमा गाडी पुर्याउने लक्ष्य लिएका छौँ । त्यसपछि बिगोठीको रिल्म गाउँमा गाडी पुगिसकेको छ । अनि उता लौँठी कालागाड सडक खण्डको दाल भन्ने ठाउँमा गाडी पुगिसकेको छ । अनि काँख्या बारीगाउँ सडक खण्डको ‘काट्याखौला’ भन्ने ठाउँमा गाडी पुगिसक्यो । काट्याखौला भनेको लगभग काँख्या गाउँको नजिकै हो । अलिकति सम्पन्न हुन बाँकी छ, काम धमाधम भइरहेको छ ।

यि र यस्तै काम गर्दै गर्दा हाम्रो जस्तो भौगोलिक विकटता भएको ठाउँमा के कस्ता समस्या भोग्नु पर्यो अर्थात के कस्ता असहजताहरु आइपरे ?
हैन, भौगोलिक विकटताका कुरा गर्ने हो भने त काम गर्न धेरै नै गाह्रो छ । अब सुगम क्षेत्रतिर त कति समस्या आइपर्छन् भने दुर्गम तिर त भन्नै सकिन्न । नेपालकै दुर्गम कर्णाली, कर्णालीकै दर्गम हुम्ला र हुम्लमकै पिछडिएको अदानचुली त छँदै छ नि । यस्ता दुखका कुरै नगरौँ । कुरा गरेर साध्य नै छैन । यो कुरा हजुरहरुलाई पनि थाहा भएकै कुरा हो । त्यसैमा पनि विकटतासँग, दुर्गमतासँग, दुखसँग, भोकसँग जुधेर, लडेर भएपनि काम गर्ने जनताले म्याण्डेड दिएका छन् । त्यो काम गर्नको निम्ति रात दिन नभनेर हामी काममा लागिरहेका छौँ र लाग्छौँ । सकेजति केहि न केहि अदानचुलीकै हितको निम्ति र परिवर्तन गर्न चाहेका छौँ । र सबैको साथ समर्थन रह्यो भने असम्भव भन्ने केहि छैन ।

सपथ ग्रहण गर्दै गर्दा अर्थात निर्वाचित भए पश्चात तपाईँले खानेपानी, विद्दुत र टेलिफोनलाई पहिलो प्राथमिकतामा राखेर आउँदो भावी कार्ययोजना अगाडी बढाउँछौँ भनेर उद्घोष गर्नुभएको थियो । यि कामहरु कसरी अगाडी बढाइराख्नुभएको छ ?
अब हामीले सपथ खाँदै गर्दा जनताको पक्षमा काम गर्ने छौँ भनेर जुन जस्तो किसिमको कसम खाएका थियौँ, त्यो अनुसार नै काम गर्ने लक्ष्य र उद्देश्यका साथ अगाडी बढ्ने प्रयास भइरहेको छ । अब इन्टरनेटको समस्याको कुरा गर्ने हो भने, द्धन् नेटवर्कको टावर दुईओटा राख्ने निर्णय गरेका छौँ । जुन च्याम र मेलचौर राख्ने समेत निर्णय भइसकेको छ । च्यामको लागि द्धन् नेटवर्कको सामान आइसकेको छ । यता मेलचौरको लागि हामी प्रक्रियामै छौँ । खानेपानी, सडक, पालिकाको प्रशासनिक भवनलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने छौँ । विद्दुतको कुरा गर्नु पर्दा अब कालिका कुकुरथल्ना जलविद्दुत आयोजनाको पनि काम सञ्चालन हुँदैछ । अनि हाम्रो यता साबिकको श्रीनगरमा सुरुवात गरेको गल्फागाड छहराखेत साना जलविद्दुत आयोजनाको काम सम्पन्न भएर अहिले केहि केहि गाउँमा अर्थात अदानचुली ३ को फडेरा गाउँमा बत्ति बलिरहेको छ । रोकाया गाउँमा र भण्डारी गाउँमा तार जडानको काम हुँदैछ । प्राविधिक मलाई त्यति ज्ञान छैन । बत्ति बल्न सुरु भइसक्यो र बल्छ भन्नेमा ढुक्क छु ।

पालिकाको जुन टिम छ, जनप्रतिनिधि र कर्मचारीहरुको त्यो टिमले कसरी काम गरिरहेको छ अर्थात कर्मचारी कसरी राखिएको छ ?
कर्मचारीको कुरा गर्दा अलिकति यसमा विडम्बना भएको छ । हामीले पालिकामा कार्यरत करार कर्मचारीहरुलाई असार मसान्तबाट काममा नफर्कने भनेर कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । त्यसपछि लगत्तै कर्मचारीको विज्ञापन खोलेर आवेदन दिने काम भयो । त्यहि बिचमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत टक्क दत्त प्याकुरेल विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा परेको कारणले गर्दा खेरी उहाँ निलम्बित हुनुभयो । निलम्बित भइसकेपछि अर्को नियुक्त गर्न नसकेको कारणले अलिकति लम्बिएको छ । यो सँगै आउँदो मंसिर ४ गतेको चुनाव पश्चात मात्रै कर्मचारी नियुक्तिको काम हुनेछ । अहिले अस्थायी कर्मचारीहरुले काम चलाइरहेका छन् । करार कर्मचारीहरुको छनोट प्रक्रिया अल्लि पर धकेलिएको छ । काममा बाधा छैन ।

अन्त्यमा, अदानचुली गाउँपालिकाको उपाध्यक्षको हैसियतले अदानचुलीवासीहरुलाई के आश्वस्त पार्नुहुन्छ ?
मलाई आदरणीय न्यायका ढोका इतिहासका निर्माता जनसमुदायहरुले जसरी जिम्मेवारी दिएर पठाएका छन् । यो जिम्मेवारी बहन गर्नको निम्ति जो ५ वर्षे कार्यकालभित्र जनतालाई, जनताको सिमा समस्यालाई आत्मसात गरेर म अगाडी बढ्नेछु भनेर हिजो पदभार ग्रहण गर्दै गर्दा पनि हामीले एउटा सपथमा कसम खाएका थियौँ । थप म जनताको पक्षमा निरन्तर काम गरिरहनेछु र सुशासनको प्रत्याभूति जनतालाई गराउनेछु भन्ने आशवासन र विश्वास दिलाउन चाहन्छु ।

प्रकाशित मिति : २०७९ आश्विन ४ गते, मंगलवार


Scroll to Top

Janata Media