अनशन बसेका डा. केसी आफ्नै खर्चमा काठमाडौं आउने

जनता संवाददाता
२०७९ आश्विन ५ गते, बुधबार

काठमाडौँ । सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गर्न खोज्दा अस्वीकार गरेका अनशन बसेका डा. गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । डा. केसी आफ्नै खर्चमा ४:४५ बजेको फ्लाइटमा धनगढीबाट काठमाडौं आउने उनका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।

काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने तयारी छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. केसीलाई काठमाडौं ल्याउन मंगलबारदेखि नै सरकारले प्रयास गरेको थियो । त्यसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो । तर १० दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा. केसीले सेनाको हेलिकप्टरमा काठमाडौं जनाले ‘जबरजस्ती गरे अपहरण गरेको ठहर्ने’ बताउँदै आएका थिए ।

त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ । अनशन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ । त्यस्तै सरकारी वार्ता टोली र डा. केसी पक्षको वार्ता टोलीबीच आइतबारदेखि काठमाडौं अनौपचारिक, अनौपचारिक रुपमा वार्ता जारी छ ।

प्रकाशित मिति : २०७९ आश्विन ५ गते, बुधबार


Scroll to Top

Janata Media