हुम्लाका ५९८ उम्मेदवारलाई गर्यो, निर्वाचन आयोगले कारबाही

जनता संवाददाता
२०७९ आश्विन ११ गते, मंगलवार

काठमाठौँ । स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै निर्वाचित अध्यक्ष उपाध्यक्षसहित ५९८ जना कारबाहीमा परेका छन् । निर्वाचन आयोगले कारबाही गरेको सूचीमा निर्वाचित भएका गाउँपालिकाका अध्यक्षहरूमा अदानचुली गाउँपालिकाका मोहनविक्रम सिंह, सर्केगार्ड गाउँपालिकाका ठानबहादुुर रोकाया, सिमकोट गाउँपालिकाका विजय भण्डारी र नाम्खा गाउँपालिकाका प्रेमबहादुर लामा रहेका छन् ।

त्यसैगरी निर्वाचन खर्च विवरण नबुझाउनेमा चार जना गाउँपालिकाका निर्वाचित उपाध्यक्ष समेत रहेका छन् । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाय, सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह काकी, खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंह र सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकाया रहेका छन् ।

खर्च विवरण नबुझाउने अध्यक्ष उपाध्यक्ष बाहेक अन्य ५९० जनालाई पनि नियमानुसार लाग्नेगरी आयोगले जरिवाना गरेको छ । आयोगले गरेको जरिवाना कारबाहीअनुसार अध्यक्ष उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन गरेका उम्मेदवारलाई तीन लाख पचास हजार र अन्य वडा अध्यक्ष, महिला, दलित महिला सदस्य र अन्य सदस्यका लागि एक लाख पचास हजार रुपियाँ जरिवाना तोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख श्यामबहादुर रानाका अनुसार २० जना अध्यक्ष तथा उपाध्यक्षका निर्वाचित र पराजित उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । आयोगले जरिवाना बापतको रकम राजस्व खातामा जम्मा गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

प्रकाशित मिति : २०७९ आश्विन ११ गते, मंगलवार


Scroll to Top

Janata Media