‘१० बुँदे’ ले पार्टीमा लिखित आत्मआलोचना गर्नुपर्ने ओलीको सङ्केत

जनता संवाददाता
२०७९ आश्विन १३ गते, बिहीबार

काठमाडौं । १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुले पार्टीमा लिखित आत्मआलोचना गर्नुपर्ने एमाले पार्टी अध्यक्ष केपी ओलीले सङ्केत गरेका छन् । नेकपा एमालेका पदाधिकारी बैठक बुधबार राति साढे २ बजेसम्म चल्यो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयमा भएको छलफलमा का बारेमा बारम्बार कुरा उठेको थियो ।

‘पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्न हस्ताक्षर गरेका नेताहरुलाई बिना कुनै आत्मआलोचना कसरी टिकट दिने ? ’ छलफलमा ओलीको भनाइ उधृत गर्दै एक नेताले भने, ‘उहाँहरुले त्यतिखेर हामीबाट गम्भीर गल्ती भयो भनेर लिखित रुपमा आत्मआलोचना गर्नुपर्छ, नत्र फेरि पनि पार्टीलाई धोका दिने सम्भावना हुन्छ ।’

ती पदाधिकारीका अनुसार १० बुँदे सहमतिमार्फत् पार्टीमा रहेका नेताहरुले अध्यक्ष ओलीसँग मौखिक माफी मागे पनि उनीहरुले टिकट पाउने सम्भावना छ । ‘तर त्यो गल्तीलाई उहाँहरुले नस्वीकारे अध्यक्षज्यूले पुनर्विचार गर्नुपर्छ भन्नुभएको छ’, ती पदाधिकारी ले भने । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक बिहीबार पनि बस्दै छ ।

एमालेको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलले २०७८ असार २७ गते १० बुँदे सहमति गरेका थिए । त्यसअघि वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोज्दा २८ जना सांसद प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : २०७९ आश्विन १३ गते, बिहीबार


Scroll to Top

Janata Media