काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय स्थापना गरिएको छ । काठमाडौंको मैतिदेवीस्थित देवकोटाको पुरानो घर भत्काएर पुरानै शैलीमा बनाएको सो सङग्रहालयको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शुक्रबार उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा उनले सो सङग्रहालय राज्यका लागि ठूलो सम्पदा भएको उल्लेख गर्दै त्यसबाट महाकवि देवकोटाको व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप उजागर गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे । उनले सो सङग्रहालय स्थापना गर्ने काममा संलग्न सबैप्रति आभार समेत व्यक्त गरे ।
करिव ७ करोड ११ लाखको लागतमा निर्माण गरिएको सो सङग्रहालय दशैं सकिएपछि असोज २३ गतेबाट सर्वसाधारणका लागि पनि खुला गर्ने प्रतिष्ठानले जनाएको छ ।
सङग्रहालयमा महाकवि देवकोटाको पूर्ण कद्को शालिकको समेत अनावरण गरिएको थियो । त्यसैगरी महाकवि देवकोटाका साहित्यिक कृतिहरु, उहाँका तस्वीरहरु पनि सङ्ग्रहालयमा हेर्न पाउने व्यवस्था गरिएको छ ।