सरुवा भएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

जनता संवाददाता
२०८२ जेष्ठ २९ गते, बिहीबार

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्घीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ ।

सरुवा भए पनि कर्मचारीलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यसलाई रोक्न तीन दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीलाई निर्देशन दिएका थिए ।

सोही अनुरुप मन्त्रालयको कर्मचारी प्रशासन शाखाले सङ्घीय अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै तीन दिनभित्र कर्मचारीलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवा सुविधाको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको ब्यहोरासहितको पत्र पठाएको छ ।

स्वास्थ्य सेवामा आफ्नो दरबन्दीभन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो ।

सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनीसहितको पत्र पठाएको हो ।मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अटेर गरेमा विभागीय कारबाही गरिने बताए ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते, बिहीबार


Scroll to Top

Janata Media