देशका अधिकांश भू–भागमा वर्षा,काठमाडौँमा दिउँसो ३ बजेपछि वर्षा रोकिने

जनता संवाददाता
२०७९ आश्विन १९ गते, बुधबार

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ ।

वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ । आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ ।

वरिष्ठ मौसमविद् शान्ति कडेँलका अनुसार काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको छ । विगत १२ घण्टामा काठमाडौँमा ३० एमएमको हाराहारीमा पानी परेको छ ।आज तीन बजेपछि वर्षा रोकिन सक्ने विभागले जनाएको छ ।

प्रकाशित मिति : २०७९ आश्विन १९ गते, बुधबार


Scroll to Top

Janata Media