निर्वाचन आयोगलाई भारत सरकारद्धारा ८० वटा गाडी उपहार

जनता संवाददाता
२०७९ कार्तिक १७ गते, बिहीबार

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन उपहार स्वरूप प्रदान गरेको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका छन्।

यी सवारी साधनले आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने छ। नेपालको अनुरोधमा उपलब्ध गराइएका २ सय वटा सवारी साधनकै हिस्साका रूपमा यी ८० वटा सवारी साधन रहेका छन्।

नेपालको अनुरोधमा विगतका वर्षहरूमा पनि भारतले आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको थियो। भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारी साधन उपहार स्वरूप प्रदान गरिसकेको छ ।

यी सवारीसाधनको हस्तान्तरणले भारत र नेपालबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई प्रतिबिम्बित गर्ने आयोगले जनाएको छ।

सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवलाई धन्यवाद ज्ञापन गरे।

नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताए।

आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीलाई जीवित राख्न अपरिहार्य भएको उल्लेख गर्दै उनले भारत सरकारले विभिन्न समयमा दिएको सवारी साधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागि समेत धन्यवाद ज्ञापन गरे।

नेपालका लागि  भारतीय राजदूत श्रीवास्तवले छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गरे।

उनले भारत सरकारले दिएको सहयोगले निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते, बिहीबार


Scroll to Top

Janata Media