बर्दियाको बबईमा बाढीको खतरा,सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

जनता संवाददाता
२०७९ आश्विन १९ गते, बुधबार

काठमाडौँ । मंगलबार रातिदेखि परेको अविरल वर्षाले बर्दियाको बबई नदीमा जलस्तर खतराको चिह्नमाथि पुगेको छ । बबई नदीमा जलस्तर ६ दशमलव १० मिटरमाथि बगिरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बबई नदीमा खतराको चिह्नमाथि बग्दै गएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए । त्यस क्षेत्रमा सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको उनले जनाए ।

मनसुन पुनस् सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ । पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले जिल्लाबाट बग्ने खोला, नाला र नदी भरिन थालेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले भीषण वर्षा हुने अनुमान गरेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई सजक रहन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए । तटीय क्षेत्रका पालिकास्थित वडाध्यक्षसँग सम्पर्क राखि सतर्कता रहन र आवश्यक परे प्रशासनको सहयोग लिन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले जनाए ।

०७१ र ०७४ साल साउनको अन्तिम साता आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएकोले यसपाला यस्तो अवस्था नआउन स्थानीय प्रशासनले आग्रह गरेको हो । ०७१ र ०७४ सालमा आएको बाढीले ४० जनाको मृत्यु भएको थियो । त्यस समय जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको थियो । बाढी र कटान सबैभन्दा बढी जोखिम गुलरिया, राजापुर, मधुवन, ठाकुरबाबा र राजापुर नगरपालिका जोखिममा छ ।

 

प्रकाशित मिति : २०७९ आश्विन १९ गते, बुधबार


Scroll to Top

Janata Media