प्रधानमन्त्री बन्ने गगनको सपना अधुरै

जनता संवाददाता
२०७९ पुष ६ गते, बुधबार

काठमाडौँ । कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्दै देश हाँक्ने महामन्त्री गगनकुमार थापाको सपना तत्कालका लागि अधुरै भएको छ ।

देशकै सीमित लोकप्रिय नेता मध्येमा पर्ने थापालाई प्रधानमन्त्री हुनबाट दलको चुनावमार्फत् प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पराजित गरेर रोकेका हुन् ।

दलको चुनावमा देश, जनता, पार्टी र भावी सन्ततिको भविष्यलाई लिएर मतदान गर्न थापाले आह्वान गरेका थिए । उनी कांग्रेसमा नेतृत्व पुस्तान्तरण र पार्टी रूपान्तरणको पक्षमा उभिएका नेता हुन् । उनलाई दलको चुनावमा देउवासँगको सशक्त प्रतिस्पर्धी ठानिएको थियो । तर, ७६ वर्षीय नेता देउवा छैटौंपटक प्रधानमन्त्री बन्नेगरि चुनिए । परितर्वनको एजेन्डा बोकेका थापा पराजित भए ।

निर्वाचन समितिका अनुसार थापाले २५ मत पाउँदा निर्वाचित भएका देउवाले ६४ मत पाए । यससँगै चर्चित युवा नेता थापा प्रधानमन्त्री हुने सम्भावना अन्त्य भएको हो ।

गणतन्त्रको नारालाई सडकमा घन्काएर सदन पुगेका नेता थापा आशलाग्दा नेता हुन् । तर, उनी दलकै नेता चुनिन सकेनन् । यसलाई लिएर कांग्रेसमा नेतृत्व परिवर्तन र रुपान्तरण नचाहनेहरू सांसदहरू धेरै रहेको अर्थमा कतिपयले बुझेका छन् ।

५२ सालपछि हालसम्म गरी पाँचपटक प्रधानमन्त्री भएर पनि देश र जनताका पक्षमा सम्झनालायक काम गर्न नसकेको भनेर आलोचित देउवा थापाको प्रधानमन्त्री बन्ने गन्तव्यमा बाधक बने । थापालाई संस्थापनइतर पक्षकै सात जना सांसदले पनि मत दिएनन्, जसका कारण देशले युवा र लोकप्रिय नेतालाई नयाँ संसद्बाट प्रधानमन्त्री नपाउने निश्चित भएको हो ।

 

प्रकाशित मिति : २०७९ पुष ६ गते, बुधबार


Scroll to Top

Janata Media