सुर्खेतबाट हुम्ला नियमित हवाई सेवा पुनः सञ्चालन

जनता संवाददाता
२०७९ पुष १७ गते, आईतवार

सुर्खेत । सुर्खेत विमानस्थलबाट नागरिक उड्डयन प्राधिकरणले सबैभन्दा विकट हुम्लामा विमान सेवा पुनः सञ्चालन गरिएको हो ।

हाल सीता एयर र समिट एयरले दैनिक २ देखि ३ उडान गरिरहेको सुर्खेत विमानस्थल प्रमुख देवेन्द्रप्रसाद पाण्डेले बताए । सुर्खेत विमानस्थलबाटै हुम्ला हवाई सेवा सञ्चालन भएपछि नेपालगन्ज गएर प्लेन कुर्नु पर्ने बाध्यता हटेको छ ।

नागरिक उड्ड्यन प्राधिकरणको २४ औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले सुर्खेतबाट काठमाडौं जाने बुद्ध एयरको गत महिनादेखि ७२ सिटे जहाजले दैनिक २ उडान सुरु गरेपछि यात्रुहरुलाई थप सहज भएको बताए । त्यसअघि ४२ सिटेमात्रै जहाज उडान हुँदा यात्रुहरु मर्कामा परेका थिए ।

स्थापना दिवसका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सर्वसाधारणलाई ढुक्क भएर यात्रा गर्न र सुर्खेतबाटै जहाजमा चढ्ने भाडादर कायम गर्न आग्रह गरेका थिए ।

विगत ६८ वर्षदेखि संचालनमा आएको सुर्खेत विमानस्थलले गत आर्थिक वर्षमा ४१ लाखमात्रै राजस्व आम्दानी गरेको सुर्खेत विमानस्थलले चालु आर्थिक वर्षको ६ महिनामा ४४ लाख राजस्व आम्दानी गरिसकेको र थप ठूला जहाजहरुको उडानले अझै तेब्बर राजस्व आम्दानी हुने लक्ष्य लिइएको पाण्डेले बताए ।

प्रकाशित मिति : २०७९ पुष १७ गते, आईतवार


Scroll to Top

Janata Media