गण्डकी प्रदेश : २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

जनता संवाददाता
२०७९ पुष २१ गते, बिहीबार

काठमाडौं । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् ।

प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नु पर्ने छ ।

गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान भएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसकने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ती गर्नका लागि पुस २५ गते ४ बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान गर्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

प्रदेश प्रमुखबाट सरकार गठनका लागि आह्वान भए पनि सत्ता गठबन्धनमा नेतृत्व कसले गर्ने भन्ने टुंगिएको छैन ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले सरकार गठनका लागि आह्वान भए पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने नटुंगिएको बताए । केन्द्रबाटै निर्णय नआउँदा अनिर्णित भएको उनको भनाइ थियो । ‘प्रदेश प्रमुखबाट आह्वान भएको थाहा पायौं तर हामीले केन्द्रको निर्णयबिना केही गर्न सक्दैनौं,’ चुमानले बताए ।

एमाले संसदीय दलका नेता खगराज अधिकारी आफू छलफलमा रहेको बताए । गण्डकीमा एमालेका २२, माओवादीका ८, राप्रपाका २ जना सांसद मिलेर सरकार बन्ने सम्भावना छ । यसबाहेक ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ र एकीकृत समाजवादीका १ जना छन् ।

प्रकाशित मिति : २०७९ पुष २१ गते, बिहीबार


Scroll to Top

Janata Media