कर्णालीको सभामुखमा गुरुङ र पोखरेलको प्रतिस्पर्धा, गुरुङ निश्चित

जनता संवाददाता
२०७९ पुष ३० गते, शनिबार

सुर्खेत ; कर्णालीमा प्रदेशसभाको नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ। प्रदेशसभाको सभामुख चयनका लागि शनिबार मनोनयन दर्ता भएको हो।

सभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट एमाले सांसद नन्दा गुरुङ र कांग्रेसको तर्फबाट सांसद खड्कबहादुर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेशसभा सचिवालयका अनुसार अब सभामुखका लागि दुई जनाबीच प्रतिस्पर्धा हुनेछ। सभामुख चयन गर्नका लागि आइतबार प्रदेशसभाको बैठक बस्दैछ।

सोही बैठकमा हुने मत विभाजनले सभामुखको टुंगो लगाउने छ। एमालेको तर्फबाट समानुपातिक सांसद बनेकी गुरुङ सुर्खेत निवासी हुन्। उनलाई एमाले कर्णाली प्रदेश कमिटीले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

गुरुङको प्रस्तावकमा एमाले संसदीय दलका नेता यामलाल कँडेल र समर्थकमा माओवादी संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री राजकुमार शर्मा छन्।

यस्तै नेपाली कांग्रेसबाट सभामुखको उम्मेदवार बनेका पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभाको सदस्यमा निर्वाचित भएका हुन्।

नेपाली कांग्रेस सुर्खेतका सभापतिसमेत रहेका पोखरेलको प्रस्तावकमा दैलेख निर्वाचन क्षेत्र नं १ (क) बाट प्रदेशसभामा निर्वाचित सांसद पूर्णबहादुर खत्री र समर्थकमा हुम्लाबाट समानुपातिकतर्फ निर्वाचित कांग्रेसकै सांसद विजया बुढा रहेकी छन्।

सभामुखमा एमाले उम्मेदवार गुरुङ चयन हुने निश्चित छ। उनको पक्षमा एमाले, माओवादी, राप्रपा र एकीकृत समाजवादीका सांसदहरूले मतदान गर्नेछन्। कर्णाली प्रदेशसभामा जम्मा ४० जना सांसद छन्। सभामुख चयनका लागि कम्तिमा २१ मत चाहिन्छ।

सत्तारुढ गठबन्धनसँग हाल २५ जना सांसद रहेका छन्। यसकारण पनि सभामुखमा गुरुङ निर्वाचित हुने निश्चित छ। कर्णालीमा सत्तारुढ नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपाका एक र एकीकृत समाजवादीका एक सांसद छन्।

यस्तै प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १४ जना सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन्। सत्ता गठबन्धनसँग सहज बहुमत भएकाले पनि एमाले उम्मेदवार गुरुङ सभामुख बन्ने निश्चित भएको हो।

गुरुङ निर्वाचित भएमा कर्णालीले पहिलो महिला सभामुख पाउने छ। त्यतिमात्र होइन, उनी संघीयता कार्यान्वयनपछि प्रदेशहरूमा पहिलो महिला सभामुख बन्नेछन्।

अघिल्लो कार्यकालमा पनि एमालेले कर्णालीमा सभामुख पाएको थियो। त्यसबेला एमालेका राजबहादुर शाही सभामुख बनेका थिए। तर यसपाली सत्ता गठबन्धनको भागबण्डामा सभामुख पाएको एमालेले महिलालाई अवसर दिइएको जनाएको छ।

कर्णालीमा एमाले र माओवादीबीचको भागबण्डामा मुख्यमन्त्री माओवादी र सभामुख एमालेले पाएका छन्। भागबण्डा अनुसार मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त भइसकेका छन्।

प्रकाशित मिति : २०७९ पुष ३० गते, शनिबार


Scroll to Top

Janata Media