
काठमाडौं। इटहरीमा जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लव र लुम्बिनी क्लवले विजयी शुरुवात गरेका छन् । इटहरीको जनता क्रिकेट पार्कमा शनिवार सम्पन्न पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई सात विकेट र लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै शुक्रवारबाट शुरु भएको प्रतियोगितामा विजयी शुरुवात गरेका हुन् । यस जितसँगै समूह ‘ए’ को एपिएफले समूह तालिकामा दुई अंक जोड्दा गण्डकीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।
शनिवार नै सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनीले प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । लुम्बिनीबाट पाएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.१ ओभरमा सबै विकेट गुमाएर मात्र ४९ रनमात्र जोड्न सक्यो । प्रतियोगितामा शुक्रवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एपिएफ क्लव र वागमती प्रदेश तथा दोस्रो खेल मधेस प्रदेश र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा एक विभागीय टोलीसहित सात प्रदेशले सहभागिता जनाएका छन् । क्यानको आयोजना भएको प्रतियोगिता ७ माघसम्म चल्नेछ ।