गण्डकीका सभामुख धितालले लिए शपथ

जनता संवाददाता
२०७९ पुष ३० गते, शनिबार

पोखरा । गण्डकी प्रदेशका नवनिर्वाचित सभामुख कृष्ण धितालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। उनलाई शनिबार साँझ गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाएका हुन्।

शपथ लिनलाई प्रदेश प्रमुख कार्यालय पुगेका धितालले झन्डै एक घण्टा कुर्नु पर्‍यो। प्रदेश प्रमुख गुरुङ पोखरा महानगरपालिकाले आयोजना गरेको बाघ भैरव नाचमा प्रमुख अतिथिका रुपमा सहभागी भएपछि शपथ लिन गएका धितालले कुर्नुपरेको हो।

शनिबार उनी गण्डकी प्रदेशको सभामुख निर्वाचित भएका हुन्। उनको पक्षमा नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भइ नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) ले मतदान गरे।

ज्येष्ठ सदस्यको हैसियतमा प्रदेश सभाको अध्यक्षता ग्रहण गरेका एमालेका मित्रलाल बस्याल भने मत विभाजनमा सहभागी भएनन्।

प्रतिपक्ष दल नेपाली कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो। उनको पक्षमा २६ मत खस्यो। कांग्रेसबाट निर्वाचित सांसद महेन्द्रध्वज जिसी बैठकमा अनुपस्थित भएका थिए।

प्रकाशित मिति : २०७९ पुष ३० गते, शनिबार


Scroll to Top

Janata Media