404 Not Found


nginx
पत्रकार पौडेलको निधनमा महासङ्घले १३ दिनसम्म शोक मनाउने - Janata Media

पत्रकार पौडेलको निधनमा महासङ्घले १३ दिनसम्म शोक मनाउने

जनता संवाददाता
२०७९ माघ २ गते, सोमबार

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पत्रकार त्रिभुवन पौडेलको विमान दुर्घटनामा भएको निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने भएको छ ।

महासङ्घका केन्द्रीय सदस्य पत्रकार पौडेलको निधनमा महासङ्घले आज माघ २ गते महासङ्घका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं आजैदेखि १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ ।

महासङ्घले एक शोक विज्ञप्ति जारी गरी स्व पौडेलसहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरेको छ ।

महासङ्घका केन्द्रीय सदस्य पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासङ्घ स्तब्ध र शोकमग्न भएको छ ।

आइतबार बिहान काठमाडौँबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको निधन भएको हो । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए।

विसं २०७४ मा महासङ्घको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासङ्घ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान दिएका थिए।

पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए। विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक(सम्पादकका रूपमा कार्यरत थिए।

स्व पौडेलका आमा, श्रीमती र एक छोरा थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले उदीयमान पत्रकार नेता गुमाएको महासङ्घको भनाइ छ ।

कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २ गते, सोमबार