काठमाडौं । मंगलबार मध्यान्ह १२ बजेदेखि नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन सेवा देशभर अवरुद्ध भयो । तर, करिब डेढ घण्टा सेवा ठप्प हुँदा टेलिकमले न तुरुन्तै कुनै माध्यमबाट ग्राहकलाई सूचित गर्यो, न त असुविधाको लागि क्षमायाचना माग्यो ।
अहिलेसम्म पनि सयमै फोन नलाग्ने, डाटा इन्टरनेट नचल्ने समस्या करिब १० घण्टादेखि कायमै छ । मन्त्रिपरिषद विस्तारको तयारी हुँदै गर्दा सुरु भएको फोन नलाग्ने सुरु भएको समस्या नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मन्त्रालयमा पदबहाली गर्दासम्म पनि समस्या समाधान भइसकेको थिएन ।
अतिआवश्यकीय सेवा लगातार करिब डेढ घण्टा र आंशिक रुपमा पटक-पटक अवरुद्ध हुँदा देशभर अन्योलको अवस्था छ । पटक-पटक एसएमएस पनि नजाने र इन्टरनेट डेटा पनि नचल्ने भएकाले धेरैले सास्ती भोगिरहेका छन् ।
मोबाइलमा निर्भरता बढ्दै गएको समयमा एक्कासी सेवा किन रोकियो भन्नेबारे पनि टेलिकमले ठोस जानकारी गराएको छैन । तर, अपरान्ह ४ बजेपछि फेसबुक पेजमा सेवा अवरुद्ध भएको जारी दिएर क्षमायाचना गरेको छ । ‘हाल सबै सेवा सुचारु भइसकेको र कुनै ग्राहकको मोबाइल सेवामा समस्या भएमा आफ्नो मोबाइल सेटको पावर अन/अफ गर्नुहुन वा फ्लाइट मुड अन/अफ गर्नहुन अनुरोध छ ।’