खुलामञ्च प्रवेश गर्न खोज्दै मिटरब्याज पीडित, रोक्दै महानगर

जनता संवाददाता
२०७९ चैत्र १३ गते, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मिटर ब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ।

सरकारसँग न्यायको माग गर्दै काठमाडौं आइपुगेका आठ जिल्लाका मिटरब्याज पीडितहरू खुलामञ्च प्रवेश गर्न खोजेका थिए। तर नगर प्रहरीले उनीहरुलाई गेटमा रोकेको हो।

त्यसपछि मिटरब्याज पीडितले मेयर बालेन साहविरुद्ध नाराबाजी गरे। खुला मञ्चमा बिरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको तर सुनुवाई नभएको मिटरब्याज पीडितहरुको गुनासो छ।

११ दिन पैदलयात्रा गरेर उनीहरु आइतबार राजधानी आइपुगेका हुन्। चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका पीडितहरू चन्द्रनिगाहपुर, हेटौंडा, भीमफेदी र चन्द्रागिरि हुँदै काठमाडौं आइपुगेका सिरहाको औरही–४ का पीडित मनोज पासवानले बताए। उनका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, कैलाली, झापा र खोटाङ जिल्लाका ७२ जना पीडितहरू काठमाडौं आइपुगेका हुन्।

आफ्नो माग पूरा नभएसम्म नफर्किने उनको भनाइ छ।

प्रकाशित मिति : २०७९ चैत्र १३ गते, सोमबार


Scroll to Top

Janata Media