नयाँ वर्ष २०८० को पहिलो सातामा ३० अंकले घट्यो नेप्से

जनता संवाददाता
२०८० बैशाख ८ गते, शुक्रबार

काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो सातामा नेप्से परिसूचकमा गिरावट आएको छ। गत साता ६७.६८ अंकले बढेर १९३४.४७ बिन्दुमा पुगेको नेप्से यो साता ३०.०७ अंकले गिरावट आएको छ। गत साता १९३४.४७ बिन्दुमा रहेको नेप्से ३०.०७ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ।

पछिल्लो सातामा भएको ५ कारोबार मध्ये १ कारोबारका दिन बजार बढेकोको थियो भने बाँकी ४ कारोबारमा भने बजार घटेको छ। नयाँ वर्ष लागेसँगै बैंकको ब्याजदरको निक्षेपको ब्याज घटेसँगै बजारमा सुधार आउने अपेक्षा लगानीकर्ताको भए पनि बजारमाथि जान सकेन। गत साता वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा झारेसँगै नेप्से उच्च दरमा बढेको थियो। साताको पहिलो कारोबार दिन वैशाख ३ गते आइतबार, सोमबार, मंगलबार र बिहीबार नेप्से परिसूचकमा गिरावट आएको थियो भने बुधबार सामान्य अंकले वृद्धि भएको थियो।

वि.सं. २०८० को पहिलो कारोबारको दिन नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा झरेको थियो। उक्त दिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो। आईतवार कारोबारमा आएका २६५ कम्पनीको ३० लाख ५६ हजार कित्ता शेयर ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। त्यस्तै, साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक २३.६४ अंक घटेर १९०८.०४ बिन्दुमा झरेको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो। सोमबार कारोबारमा आएका २६७ कम्पनीको ३१ लाख ३९ हजार कित्ता शेयर ९१ करोड ८२ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

त्यस्तै, साताको तेस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक ३.०७ अंक घटेर १९०४.९८ बिन्दुमा झरेको थियो।  मंगलबार नेप्से घटेसँगै कारोबार रकम पनि घटेको थियो। मंगलबार कारोबारमा आएका २६६ कम्पनीको २९ लाख ७० हजार कित्ता शेयर ८६ करोड ७६ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। तर, लगातार रुपमा घट्दै आएको नेप्से बुधबार भने १५.१३ अंकले बढेर १९२०.१२ बिन्दुमा पुगेको थियो। बुधबार कारोबारमा आएका २७३ कम्पनीको २५ लाख ७९ हजार कित्ता शेयर ८७ करोड २१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से सूचक १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा झरेको छ। बिहीबार नेप्सेसँगै कारोबार रकम पनि ९८ अर्ब रुपैयाँमा नै सिमित भएको छ। बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा नाफा देखिँदासमेत शेयर बजारमा खासै प्रभाव पर्न सकेन।

अधिकांश बैंकले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेका छन्। यस साता नेप्सेको कुल बजार पुँजीकरण १ खर्ब बढी रुपैयाँले घटेको छ। गत साता १ खर्ब ९ अर्ब रुपैयाँले बढेर २८ खर्ब १३ अर्ब रुपैयाँ पुगेको कुल पुँजीकरण यो साता १ खर्ब ६१ अर्ब रुपैयाँले घटेर २७ खर्ब ७४ अर्ब ७८ करोड रुपैयाँमा सीमित भएको छ।

प्रकाशित मिति : २०८० बैशाख ८ गते, शुक्रबार


Scroll to Top

Janata Media