कतारलाई ६८ रनले हराउँदै नेपाल समुह विजेता

जनता संवाददाता
२०८० बैशाख १४ गते, बिहीबार

काठमाडौँ । समुह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल एसीसी प्रिमियर लिगको समुह विजेता बनेको छ । यसअघि नै सेमिफाइनलमा स्थान बनाएको नेपाल बिहीबारको जितसँगै समुह विजेता बनेको हो ।

काठमाडौँको त्रिवि मैदानमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतारलाई नेपालले २५ दशमलव १ ओभरमा ८९ रनमा अलआउट गर्‍यो । नेपालका सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललितनारायण राजवंशीले २ विकेट लिए ।

कतारका तीन खेलाडीबाहेक अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा एक सय ५७ रन बनाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४१ औँ ओभरमा १५७ रनमा अलआउट भयो । नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा धेरै अविजित ४२ रन बनाए ।

दोस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल २ रनमा आउट भएसँगै नेपालको विकेट पतन सुरू भएको हो । भीम सार्की ६ रनमा, आसिफ शेख १९ रनमा कप्तान रोहित पौडेल २७ रनमा, कुशल मल्ल ३ रनमा, सोमपाल कामी ११ रनमा, आरिफ शेख ११ रनमा, दीपेन्द्रसिंह ऐरी, १२ रनमा र गुल्शन झा ७ र ललितनारायण राजवंशी १ रनमा आउट भएपछि नेपालले सामान्य चुनौती दिएको थियो ।

कतारका अमिर फारुकले ३ तथा मुनवीरा र ओवाइस अहमेदले २-२ विकेट लिए । नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । साउदी अरेबियासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो।

यो समूहबाट ओमान ६ अंकसहित सेमिफाइनल पुगिसकेको छ। अब नेपालले पर्सी शनिवार हुने सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : २०८० बैशाख १४ गते, बिहीबार


Scroll to Top

Janata Media