
काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसिसी महिला एसिया कपको तयारीस्वरूप श्रीलंकामै तीन अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले श्रीलंका क्रिकेट बोर्डको महिला विकास टोलीविरुद्ध खेल्ने पक्का भएको हो । क्यानले सार्वजनिक गरेको तालिकाअनुसार खेल सरी भिलेजमा ९, १० र १६ जुलाईमा हुनेछ । एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदै छ । त्यसतर्फ प्रस्थान गर्ने नेपाली टोलीको क्यानले शनिबार नै बिदाई गरेको छ ।
टोलीको कप्तान इन्दु बर्मा छिन् । त्यस्तै, सबनम राई, रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, कविता कुँवर, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, सम्झना खड्का, डोली भट्ट, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी र राजमती ऐरी छन् । अप्सरी बेगमलाई भने क्यानले अनुशासन तोडेको भन्दै निलम्बन गरेको छ । उनले प्रशिक्षक र व्यवस्थापकलाई अभन्द्र व्यवहार गरेको क्यानको दाबी छ ।
प्रतियोगिताको समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र युएई छन् । समूह ‘बी’मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् । नेपाल सर्वाधिक च्याम्पियन भारत र पाकिस्तानलाई चुनौती दिने योजनामा छ । युएईलाई हराउँदै विश्वकपको ढोका खोल्ने योजनामा रहेको कप्तान इन्दु बर्माले बताइन् । नेपालले जुलाई १९ मा युएईको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।
एसिसीले मलेसियामा भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एसिया कप खेलाउने निर्णय गरेसँगै नेपालले प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएको हो । योसँगै नेपाली महिला टोलीले तेस्रोपटक एसिया कपमा सहभागिता जनाउँदै छ । नेपालले यसअघि सन् २०१२ र २०१६ मा एसिया कप खेलेको थियो । तर, नेपाल समूह चरणबाट बढ्न सकेको छैन ।
४५ दिनको तयारी गरेका छौँ इन्दु बर्मा, कप्तान, नेपाल
४५ दिनको तयारी गरेका छौँ । तयारी निकै राम्रो भएको छ । म्याच पनि खेलेका छौँ । इन्डोर अभ्यास पनि भएको छ । श्रीलंकामा अभ्यास खेल पनि खेल्नेछौँ र प्रतियोगिता राम्रो तयारी गर्न पाउँछौँ ।