नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकार कसैको दबाबमा पछि हट्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

जनता संवाददाता
२०८० जेष्ठ २ गते, मंगलवार

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताएका छन् ।

मङ्गलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि नहट्ने बताउनुभएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकरणमा नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरिकन काम गर्न निर्देशन दिइएको भन्दै अहिले प्रहरीले निष्पक्ष रुपमा काम गरिरहेको उल्लेख गरे । उनले भ्रष्टाचारका अन्य प्रकरणहरुको पनि अनुसन्धान हुने बताए ।

‘‘भुटानी शरणार्थी बनाएर पठाउने जुन मुद्दा हो, अहिले अनुसन्धान सकिएको छैन । अनुसन्धानको समय कम भएकाले प्रहरीले २४ घण्टा नै काम गर्नुपरेको बाध्यता छ, प्रहरीलाई प्रारम्भिक चरणदेखि नै कुनै राजनीतिक वा अवाञ्छनीय प्रभावबाट मुक्त राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिइएको छ । कोही निर्दोष फस्ने काम नहोस् भनेर भनेका छौँ, कसैको छविमाथि आघात नपुगोस् र कोही पनि दोषी नछुटोस् भनेर निर्देशन दिइएको छ, प्रहरी त्यसैअनुसार अघि बढेको छ ।,’’ उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको लक्ष्य छ । सरकारको तर्फबाट कुनै बायसनेस लिइनेछैन र सरकार कुनै दबाबको अघि झुक्नेछैन । अनुसन्धानले जहाँसम्म लैजान्छ त्यहाँसम्म सरकार पुग्छ ।’’

उनले अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको काम भएको बताए ।

‘‘नेपाली नागरिकलाई अनागरिक बनाएर भुटानाी शरणार्थीको रुपमा विदेश पठाउने त्यसरी विदेश पठाउने प्रक्रियालाई अघि बढाएर सम्पत्ती आर्जन गर्ने काम भएको कुरामा अहिले सरकाकर, गृह मन्त्रालय र प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । यो मुल स्प्रिडलाई केन्द्रबिन्दुमा राखेर यो प्रक्रिया अघि बढाएका छौँ । अहिले देखापरेको यो अवस्था ।,’’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘‘म के भन्न चाहन्छु भने अगाडि ल्याएर त्यसमा मात्रै केन्द्रित हुने पक्षमा सरकार छैन, हामीले समृद्धिको यात्राको प्रमुख बाधक जो छ, भ्रष्टाचार र कुशासनलाई समाधान गर्न हामीले अरु पनि यस प्रकारका समाधानहरु छन् त्यसलाई निर्भिकतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’’

मन्त्ती श्रेष्ठले अनुसन्धानले पुर्‍याउने बाटोसम्म सरकार पुगेर दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते, मंगलवार


Scroll to Top

Janata Media