काठमाडौँ । मुलुकभर सञ्चालित संस्थागत तथा निजी शिक्षालयहरूमा कार्यरत शिक्षक, कर्मचारी तथा प्राध्यापकहरूको “नेपाल अध्यापक सङ्घ” नामक ट्रेड यूनियन सङ्घको केन्द्रीय कार्यालयको बैशाख २९ गते बुद्ध जयन्तीका दिन उद्घाटन भएको छ ।
काठमाडौँ म.न.पा.–१३, सोल्टीमोड, काठमाडौँमा उद्घाटित कार्यक्रमभका प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे थिए । आङदेम्बेले संस्थागत तथा निजी शिक्षालयका सञ्चालक र श्रमिकका बिचको असल श्रम सम्बन्ध र समन्वयबाट दुवै पक्षलाई फाइदा हुने बताए ।
वहाँले त्यस सम्बन्धबाट शिक्षार्थीहरूले समेत गुणस्तरीय शिक्षा प्राप्त गर्ने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शुभेच्छुक संस्था समन्वय विभागका संयोजक अब्दुल सत्तारले अध्यापक सङ्घले हालसम्म गरेका उत्कृष्ट कामहरूलाई प्रचारमा ल्याउन सुझाए । त्यसै गरी केन्द्रीय सदस्य तथा पार्टीको टे«ड युनियन तथा श्रमिक विभागका संयोजक हरिशरण नेपालीले नेपाल अध्यापक सङ्घले टे«ड युनियन अधिकार र गुणस्तरीय शिक्षाका क्षेत्रमा उठाएका जायज एवम् सान्दर्भिक मागहरूलाई पार्टी र आपूmले नेतृत्व गरेको विभागका तर्पmबाट अपनत्व लिँदै कार्यान्वयनका लागि लागीपरेको विषय प्रष्ट पारे ।
उक्त कार्यक्रममा अध्यापक सङ्घका सल्लाहकार डीपी अर्याल, टे«ड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवर, नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, सार्वजनिक शैक्षिक गुठी विद्यालय सङ्घका अध्यक्ष जे.एस.पौडेल, प्याब्सनका उपाध्यक्ष रविन्स शर्मा र अभिभावक सङ्घका सचिव प्रबिन निरौलाले अध्यापक सङ्घको केन्द्रीय कार्यालयबाट श्रममैत्री, पेसागत, शैक्षिक तथा प्राज्ञिक कार्य सम्पादनका लागि शुभकामना व्यक्त गरे ।
सङ्घका अध्यक्ष भोला चालिसेले अध्यापकहरूको पहिचान, अभिलेखिकरण, राज्यका निकायमा समान पहुँच, स्तर निर्धारण र योगदानमा आधारित सामाजिक सुरक्षा कोषका सम्बन्धमा संस्थागत धारणा राखे । अध्यक्ष चालिसकेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष धर्मराज जोशीले सञ्चालन गरेका थिए भने अर्का उपाध्यक्ष टंकप्रसाद गैरेले अतिथि तथा सहभागीहरूलाई स्वागत मन्तव्य दिएका थिए ।







