काठमाडौँ । बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डाँगीले बताए ।
नेपालगञ्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं जाँदै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् ।







