आज गणेश चतुर्थी पर्व, देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

जनता संवाददाता
२०८० आश्विन २ गते, मंगलवार

काठमाडौं । अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्रविनायक, सूर्य विनायक, कमल विनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिव पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका ९तीज० को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईले जानकारी दिए ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने यो पर्व आज भने मङ्गलवार नै परेको छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् । तिथिको घटबढका कारण गणेश चतुर्थी अर्थात् चथा पर्व र ऋषि पञ्चमी पर्व पनि मङ्गलवार नै रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । सूर्योदय कालमा चतुर्थी तिथि र मध्याह्नकालमा पञ्चमी तिथि परेकाले समितिले यस्तो निर्णय गरेको उनले बताए ।

यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ । विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ । यस वर्ष भने रथयात्रा पनि आजै गरिने जनाइएको छ । विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो । यसैले यस दिन धर्मसभाको स्थापना दिवसका रुपमा पनि मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०८० आश्विन २ गते, मंगलवार


Scroll to Top

Janata Media