हुम्लामा दसैँ–तिहारलाई लक्षित गरी २५ सय क्विन्टल खाद्यान्न बिक्री गरिने

जनता संवाददाता
२०८० आश्विन १७ गते, बुधबार

राजन रावत
हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाले दसैँ– तिहारका लागि सहुलियतमा खाद्यान्न बिक्री गर्नुभएको छ । सर्वसाधारणलाई चाडबाडमा राहत दिने उद्देश्यले लिमिटेडले सहुलियतमा खाद्यान्न बिक्री गर्न लागेको हो ।

लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले यस पटकको दसैँ, तिहारका लागि दुई हजार पाँचसय क्विन्टल खाद्यान्न सहुलियतमा बिक्री गर्न लागिएको बताए । उनले बडा दसैँ र तिहार नेपालीको महान् चाड भएको कारण शाखाले सहुलियतको व्यवस्था गरेको बताए ।

उनले शाखाबाट बिक्री हुने सबै प्रकारको खाद्यान्नमा प्रतिकेजी सात रुपियाँ छुटमा बिक्री गर्न लागिएको बताए । लिमिटेडले दिन लागेको छुटको खाद्यान्नमा जिरा मसिनो चामल प्रतिकेजी ९५ रुपियाँमा ८८ रुपियाँ पर्नेछ ।

त्यसैगरि प्रतिकेजी ६८ मा बिक्री भइरहेको सोना चामलमा ६१ रुपियाँ, मध्यम अरुवामा प्रतिकेजी ६७ बाट ६० रुपियाँमा, अरुवा प्रतिकेजी ६२ बाट ५५ रुपियाँमा बिक्री गर्न लागिएको छ । यस हिसाबले प्रतिक्विन्टल सातसय रुपियाँ छुट पाइनेछ ।

उनले असोज २१ गतेबाट सहुलियतको खाद्यान्न बिक्री गरिनेछ । यसबाट १्र८ हजार ५७३ सर्वसाधारण, बजारवासी र कर्मचारी लाभान्वित हुनेछन् । जिल्लामा एक जनाले सातदेखि दश केजीसम्म खाद्यान्न पाउँदै आएका छन् । यसपालि दसैँका लागि लिमिटेडले १७ लाख ५० हजार रुपियाँको सहुलियतमा खाद्यान्न बिक्री गर्नेछ ।

प्रकाशित मिति : २०८० आश्विन १७ गते, बुधबार


Scroll to Top

Janata Media