माओवादी द्धन्द्धका यौनहिंसा पीडितले फेरी उजुरी दिन पाउने

जनता संवाददाता
२०८० आश्विन २३ गते, मंगलवार

काठमाडौं । माओवादी द्धन्द्धकालमा यौनहिंसा पीडितले न्यायका लागि उजुरी दिन पाउने भएका छन् ।

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले माओवादी द्धन्द्धका यौनहिंसा पीडितले उजुरी दिन पाउने गरी सहमति जुटाएका हुन् ।

संसदीय उपसमितिले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जुटाएको सहमतिमा यस्तो व्यवस्था गरिएको छ ।

‘आयोगले सशस्त्र द्धन्द्धको क्रममा जबर्जस्ती करणी वा गम्भीर यौनजन्य हिंसामा परेका पीडित वा निजको तर्फबाट उजुरी दिन छुट भएको भए आयोगमा उजुरी दिन एक पटकको लागि तीन महिनाको म्याद दिई सार्वजनिक सूचना प्रकाशन गरी आयोगले उजुरी माग गर्नेछ,’ संक्रमणकालीन न्याय सम्बन्धी विधेयकको प्रतिवेदनमा उल्लेख छ ।

सरोकारवालाहरूले यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । सरोकारवालाहरूको चासोलाई समेट्न उपसमितिमा रहेका सबै दलका सांसदहरू सहमत भएका छन् ।

यस्तै द्धन्द्धका समयमा बलात्कार र गम्भीर यौन हिंसामा परेका दुई हजारभन्दा बढी महिलालाई पीडितको सूचिमा समेत राखिएको छैन ।

पीडितहरूले विधेयकलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको मापदण्डअनुसार संशोधन गर्न सरोकारवाला निकायलाई दबाब दिँदै आएका छन् ।

प्रकाशित मिति : २०८० आश्विन २३ गते, मंगलवार


Scroll to Top

Janata Media