काठमाडौँ । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक हत्या भएको हप्ता दिन पुगेको छ । हप्ता दिन पुगिसक्दा पनि प्रहरी घटनाको यथार्थ विवरण बाहिर ल्याउन नसके पनि अनुसन्धान भइरहेको बताउँदै आएको छ ।
गत ८ गते बुधबार सो घटना भए पनि दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् प्रहरीले २८ वर्षीय आमा श्रीदेवी, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहरलाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा पुर्यायो ।
सोमबारसम्म चारवटै शवको परीक्षण सकिए पनि मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अड्को दीपकले थापेपछि दाहसंस्कार हुन सकेको छैन । घटनाबारे जानकारी अध्ययन गरिरहेको छ ।
सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिबार ११ गतेदेखि सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान ब्युरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटाएर अनुसन्धान तीव्र बनाएको थियो । जुम्लाबाट पनि सो घटनाको अनुसन्धानमा सघाउन प्रहरीको विशेष टोली मुगु पुगेको थियो ।
घटनाको प्रकृति र अनुसन्धानको प्रगतिबारे नजिकबाट बुझ्न प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थलमा पुग्नुभएको थियो । उनले भने, “अनुसन्धानलाई सघन बनाएर लगिएको छ । सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेका छौँ । हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो चाँडो प्रहरी पुग्नेछ ।”
घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिए पनि घटना भएको हप्ता दिन बितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेको छ । अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिसँग भेरिफाइ गर्न कम्तीमा एकदेखि दुई दिनसम्म लाग्छ । चाररचार जनाको हत्या भएको छ कयौँ जनासँग सोधपुछ र भेरिफाई गर्दा धेरै दिन लाग्नु अनौठो होइन ।
“मुगु सुगम जिल्ला होइन यहाँ अनेकौँ कठिनाइ ब्यहोरेर काम गर्नुपर्छ एक त घटनाको सूचना प्रहरीसम्म ढिला पुग्यो, फोन र नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धानसम्बन्धी क्रियाकलाप गर्न घटनास्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक–पटक आवतजावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धानमा असर परिरहेको छ।” उनले भने । प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट सो घटनाको अनुसन्धान गरिरहेको बताएको छ । घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल दुई फोन सेटमध्ये एक सेट भेटिए पनि अर्को स्मार्ट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उद्देश्य र कारोबारले हत्या भएको हुनसक्ने अनुमान गरी प्रहरीले गरिरहेको छ ।
प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला पार्न नसके पनि अनुसन्धान भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाईछाड्ने प्रहरीले जिकिर गरिरहेको छ । हप्ता दिन बित्यो घटनाको केही क्लु फेला परेको छैन । के थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान टोली आउन लागेको हो भन्ने पत्रकारको प्रश्नमा प्रनाउ थापाले भने , “कुनै क्लु नभेटाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलीले हत्या र हत्याराबारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सिआइवी टोली पनि मुगु आउनसक्छ ।”
शवहरूको परीक्षण सोमबारै सकिएकोले अब घटनाबारे सूक्ष्म अध्यायन र अनुसन्धान हुने पनि प्रनाउ थापाले जानकारी गराए ।यता जिल्ला अस्पतालमा शव राख्ने कोल्ड हाउस नहुँदा शवहरू गल्दै गएकाले समय मै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने त्रासमा रहेको चिकित्सक अर्जुन भामले बताए। उनले भने, “प्रहरीले अनुसन्धान गरिरहेको छ सूक्ष्म अध्ययनका लागि शवपरीक्षण पनि भइसक्यो अब आफन्तहरूले शव बुझिदिए राम्रो हुने थियो । रासस







