कान्तिपुरका अध्यक्ष सिरोहिया कार्यालयबाटै पक्राउ

जनता संवाददाता
२०८१ जेष्ठ ८ गते, मंगलवार

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ कान्तिपुरको कार्यालय थापाथली पुगेर अध्यक्ष सिरोहियालाई कार्यकक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरी परिसरको संयुक्त टोलीले धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे सोधपुछ गर्न सिरोहियालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नुअघि अध्यक्ष सिरोहियाले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित विचलित नहुने बताएका छन्।

सिरोहियाले सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको र आफू पनि जेल गएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन्।

अध्यक्ष सिरोहियालाई पक्राउ गरेको दृश्य कान्तिपुरले प्रत्यक्ष प्रसारण गरेको छ। मिडियाको कार्यालयमै प्रहरी प्रवेश गरेर अध्यक्षलाई पक्राउ गरेको भन्दै मिडिया संम्वद्ध व्यक्तिको समेत त्यहाँ बाक्लो उपस्थिति थियो।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते, मंगलवार


Scroll to Top

Janata Media