एक हजारभन्दा बढी सवारीसाधन नष्ट

जनता संवाददाता
२०८२ भाद्र ३१ गते, मंगलवार

काठमाडौँ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् । जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चारपाङ्ग्रे तथा ६०१ वटा दुईपाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् ।

यो तथ्याङ्क त्यस क्षेत्रका सबै सरकारी निकायको होइन । सम्बन्धित सरकारी निकायले निकालेको प्रारम्भिक अनुमान र गोरखापत्रले गरेको स्थलगत अवलोकनका आधारमा यो प्रारम्भिक सङ्ख्या निकालिएको हो । यसको विस्तृत विवरण सँगैको तालिकामा दिइएको छ ।

यसभन्दा पनि बढी क्षतिको अनुमान छ । तोडफोड मात्र भएका सवारीसाधन यसमा परेका छैनन् । सबैको आर्थिक मूल्य निकाल्न निकै समय लाग्ने छ ।

सवारीसाधन सडक विभागका नष्ट भएका छन् । विभागले मोटरसाइकल र स्कुटर गन्न नसकिने गरी जलेको जनाइएको छ ।

त्यसपछि सर्वोच्च अदालतका ५१ वटा चारपाङ्ग्रे र गन्न नसकिने सङ्ख्यामा मोटरसाइकलरस्कुटर, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र अनुमानित दुई सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका ४७ गाडी र ७४ मोटरसाइकलरस्कुटर नष्ट भएका छन् ।

त्यस्तै अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकलरस्कुटर नष्ट भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले बताए । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३३ साना गाडी र दुई बस तथा ३६ मोटरसाइकल जलेर नष्ट भएका छन् ।

यी निकायमा पार्किङ गरिएका निजी सवारीसाधन पनि नष्ट भएका छन् तर तिनको विवरण आएको छैन । जेनजी आन्दोलन सुरु भएपछि मन्त्रालयका सवारीसाधन निजी घरमा नराखी सिंहदरबार परिसरमा नै पार्किङ गर्न निर्देशन दिइएको थियो । सुरक्षाका दृष्टिले सिंहदरबार सुरक्षित मानिएर त्यस्तो भनिएको भए पनि त्यही परिसर नै तोडफोड र आगजनी भएपछि अकल्पनीय क्षति भएको हो ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते, मंगलवार


Scroll to Top

Janata Media