काठमाडौँ । मिति २०८०।०७।१० गते अं. बिहान १०:०० बजेको समयमा मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं. ६ मन्दु गाउँ स्थित श्रीदेवी बोहोरा, निजको छोरा वर्ष ११ को मनोज बोहोरा, वर्ष ७ की छोरी अप्सरा बोहोरा र ५ महिनाको छोरा रहर बोहोरा समेतका एकै घर परिवारका जम्मा चार जना सदस्यहरुको निजकै घर कोठामा धारिलो हतियारबाट टाउको र घाटिमा प्रहार गरी हत्या भएको ज्यान सम्बन्धी कसूर गर्न व्यक्तिलाई प्रकाउ गरिएको छ । हत्यामा संलग्न मुगु जिल्ला साविक पिना गा. वि. स. वडा नं. ९ हालको छायाँनाथ रारा नगरपालिका वडा नं. ७ पिना बस्ने बर्ष ३० को गोर्ख बहादुर शाहीलाई मिति २०८०।०७।२० गते सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ पञ्चकोशी टोल स्थित जसकला बमको घरबाट र निजको बयान पोलमा खुल्न आएको ऐ . गा. वि. स. वडा नं. ८ हालको छायाँनाथ रारा नगरपालिका वडा नं. ६ मन्दु बस्ने अं. वर्ष ३१ को गोपाल बोहोरालाई मिति २०८०/०७/२४ गते निजकै घर वतनबाट प्रहरीले पक्राउ गरेको हो ।
योजना र हत्या:
निज प्रतिवादी गोपाल बोहोरा बैदेशिक रोजगारीको लागि कतार गएकोमा राम्रो काम नपाई २ बर्ष बसेर नेपाल फर्किएकोमा मृतक श्रीदेवी बोहोराको श्रीमान् दीपक बोहोराले कतारस्थित काम गर्ने कम्पनिमा ‘राम्रो कमाई’ गरेका कारण उक्त कम्पनिमा काम गर्ने गरी आफूलाई समेत भिषा पठाइदिन निज गोपाल बोहोराले आग्रह गर्दा दिपकले सो कुरा अस्विकार गरेकाले निजले रिसईवी भई निजको परिवारको हत्या गर्ने योजना बनाएको थिए । सोही योजना अनुसार २०८० जेठ महिनामा ऐ. वडा नं. ७ पिना घर भई हाल बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानी बस्ने बर्ष ३० को गोर्ख बहादुर शाहीलाई भेटी हाल मृतक श्रीदेवी बोहोरासँग भएको १०/१२ तोला सुन र नगद रुपैयाँ लुटपाट गर्ने सल्लाह भएको थियो ।
सोही अनुसार प्रतिवादी गोर्ख बहादुर शाही मिति २०८०/०७/०६ गते गोपाल बोहोरासँग भेट गरी लुकिछिपी बसेकोमा मिति २०८०/०७/०८ गते साँझ हाल मृतक श्रीदेवी बोहोरा माइतीघरबाट फर्केर घरमा आई खाना खाई सपरिवार बसेकोमा अं. २१:०० बजेको समयमा निज प्रतिवादी गोपाल बोहोरा र गोर्ख बहादुर शाहीले श्रीदेवी बोहोरालाई घर बाहिरबाट बोलाई ढोका खोल्न लगाई घर भित्र प्रवेश गरेको र दुबै जना मिलेर धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहार गरि श्रीदेवी बोहोरा तथा छोराछोरी मनोज बोहोरा, अप्सरा बोहोरा र रहर बोहोराको सामुहिक हत्या गरी मृतक श्रीदेवी बोहोराले प्रयोग गर्दै आएको मोबाइल OPPO A1K (CPH1923) थान-१, मृतकले कानमा लगाएको अन्दाजी २.५ तोला सुनको रिङ र २५ लालको घाँटिमा लगाएको सुनको तिलहरी लुटि लिई फरार भएका थिए घटनाबस्थलबाट फरार भएका थिए ।
गोरख बहादुर शाही हत्या पश्चात घटनास्थलबाट भागी फरार रहेकोमा मृतक श्रीदेवी बोहोराले प्रयोग गर्ने गरेको तर घटनास्थलमा बरामद नभएको OPPO कम्पनिको मोबाईलबाट मृतकले प्रयोग गर्ने गरेको सिम निकाली फाली निजले प्रयोग गर्ने सिम हालेर प्रयोग गर्दै आईरहेको थियो ।
मिति २०८०।०७।२३ गते बाँके जिल्ला नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १८ कारकाँदो स्थित गजेन्द्र विक्रम शाहीको घरमा गोर्ख राज शाहीले लुकाई छिपाई झोलामा नगद जम्मा रू.१,७९,०००।- (एक लाख उनासी हजार), निज गोर्ख बहादुर शाहीको नामको नेपाली राहादानी थान-१, निजकै नामका बस टिकट थान-२ र ९८६९८५१४२६ र ९७६८२३००२८ नम्बरको सिम कार्ड नभएको कार्ड होल्डर थान- २ बरामद भएको थियो । उक्त रकम मृतकबाट लुटिएको सुन बिक्रि गरी आर्जन गरेको देखिएको छ । प्रहरीले घटनास्थलबाट काले भन्ने गोर्ख राज शाहीको गलबन्दी समेत बरामद गरेको छ। हाल निज प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित मुगु जिल्ला अदालत गमगढी, मुगुबाट दिन ११ म्याद थप गरी हिरासतमा राखी अनुसन्धानको लागि राखिएको छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज काठमाण्डौ, कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेत, नेपाल प्रहरी प्रदेश कार्यालय, कर्णाली प्रदेश (हाल नेपालगञ्ज) र जिल्ला प्रहरी कार्यालय मुगु समेतका प्रहरी टोली संयुक्त रुपमा घटनास्थालमा खटिई गई अनुसन्धान गर्नुका साथै घटनाको प्राविधिक तथा सुक्ष्म अनुसन्धान विश्लेषणबाट घटनामा संलग्न प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।







