तिहार अर्थात यमपञ्चक सुरु, आज काग तिहार

जनता संवाददाता
२०८० कार्तिक २५ गते, शनिबार

काठमाडौँ । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार आज (शनिबार) देखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ ।

यमराजको सन्देशवाहकका रूपमा कागलाई लिने गरिन्छ । सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले यसलाई यमपञ्चक पनि भनिन्छ । आजकै दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको स्मरण गर्दै जयन्ती पनि मनाइन्छ ।

यमपञ्चकको यस अवधिमा आइतबार बिहान नरक चतुर्दशी परेकाले सूयोदयपूर्व पवित्र नदीमा गएर स्नान गरेर नर्क बगाएमा नरकमा पर्नु पर्दैन भन्ने विश्वास पनि छ । आइतबार यमराजको द्वारपालका रूपमा कुकुरको पूजा गर्ने र साँझमा घर घरमा दिपावली गरेर लक्ष्मी पूजा गर्ने गरिन्छ ।

यस वर्ष सोमबार गाईपूजा र मङ्गलबार गोवर्धन पूजा परेको छ । नेवारी समुदायले यसै दिन म्हः पूजासमेत गर्छन् । २९ गते बुधबार १० बजेर ५१ मिनेटमा भाइटीकाको साइत छ । सो साइतमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै सप्तरङ्गी टीका र कहिल्यै नओइल्याउने मखमली फूलको माला लगाइदिने प्रचलन छ ।

प्रकाशित मिति : २०८० कार्तिक २५ गते, शनिबार


Scroll to Top

Janata Media