काठमाडौं । भारत एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधवार वंखेडेमा भएको सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनको लक्ष्य दिएको थियो । न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३ सय २७ रन मात्रै जोड्यो । न्युजिल्यान्डको ड्यारिल मिचेलले एक सय ३४, कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिप्सले ४१ रन जोडे । भारतका मोहम्मद सामी एक्लैले ७ विकेट लिए ।
त्यसअघि भारतका लागि विराट कोहलीले एक सय १७ र श्रेयस अय्यरले एक सय ५ रन बनाए । भारतले उपाधिका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकामध्ये एकसँग खेल्ने छ ।







