काठमाडौँ । नेपाल प्रहरीले गत बिहीबार नागढुङ्गाबाट बरामद भएको दुई किलोग्राम सुन प्रकरणमा चिनिया नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद सुन ओसारपसारमा संलग्न रहेको आरोपमा काठमाडौँको सोह्रखुट्टे बस्दै आएका २७ वर्षीय चिनियाँ नागरिक चेन झिउइलाई आज पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सुन ओसारपसारमा संलग्न रहेको आरोपमा झिउइलाई पक्राउ गरेको राससलाई जानकारी दिए। गत बिहीबार प्रहरीले बागमती प्रदेश–०१–०२८ च २६९७ नंको स्कोर्पियो गाडीको गियर बक्सबाट दुई किलो सुन बरामद गरेको हो।
रसुवाबाट सुन लिएर काठमाडौँ आउँदै गरेका रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्यालछिरिङ तामाङ, २६ वर्षीय बिरु तामाङ र १९ वर्षीय सुनिल भुजेललाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो। तीन जनाको सूचनाका आधारमा आज थप एक जनालाई पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए।







