पाकिस्तानद्धारा इंग्ल्यान्ड तीन रनले पराजित

जनता संवाददाता
२०७९ आश्विन १० गते, सोमबार

काठमाडौँ । घरेलु टिम पाकिस्तानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको चौथो खेलमा इंग्ल्यान्डविरुद्ध रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई तीन रनले पराजित गर्दै जित निकालेको हो ।

१ सय ६७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ओभर सकिन चार बल बाँकी छँदा सबै विकेटको क्षतिमा १ सय ६३ रन मात्रै बनाउन सक्यो । इंग्ल्यान्डका लियाम डावसन र ह्यारी ब्रोकले समान ३४–३४ रन बनाउँदा बेन डुक्केटले ३३ र कप्तान मोइन अलीले २९ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद नवाज र हरिस राउफले समान ३–३ विकेट लिए । त्यस्तै, मोहम्मद हसनैनले दुई विकेट लिए । यसअघि कराचीस्थित नेशनल रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ६७ बलमा ८८ रन बनाए । उनले ९ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, कप्तान बाबर अजामले ३६ र शान मसोदले २१ रन बनाए । यो जितसँगै सात खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा २–२ को बराबरी भएको छ । अझै तीन खेल खेल्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७९ आश्विन १० गते, सोमबार


Scroll to Top

Janata Media