काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको आरोप सम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा परेको छ।
जिल्ला अदालत, काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको यो मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको थियो। आइतबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश भएको जिल्ला अदालतले जनाएको छ।
अब न्यायाधीश ढकालकै इजालसमा सोमबार पनि सुनुवाइ हुनेछ। यसअघि पटकपटक स्थगित र कागजागत झिकाउने आदेश हुँदै आएका थिए। अन्तिम फैसला नगरि पन्छाइँदै आएको थियो।
यो मुद्दा अहिलेसम्म ३३ पटक पेशी चढिसकेको छ। आज न्यायाधीश ढकालले ‘हेर्दाहेर्दै’मा राखेकाले अर्को पेशीमा अन्तिम फैसला आउनसक्ने कानून व्यवसायीले आकलन गरेका छन्।
२०७९ भदौमा लामिछाने विरुद्ध नाबालिका बलात्कारको आरोप लागेको थियो। क्रिकेट खेल्न अफ्रिकी मुलुक पुगेका सन्दीप प्रहरीमा जाहेरी परेको सार्वजनिक भएपछि राष्ट्रिय टोलीसँगै नफर्की भागेर अमेरिका पुगेका थिए। इन्टरपोल मार्फत पक्राउ पर्ने सूचना जारी भएपछि उनले नेपाल फर्किएर आत्मसमर्पण गरेका थिए।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छोडिदिएको थियो। उच्चको आदेशलाई समेत सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन्।
यस मुद्दामा सर्वोच्च अदालतले ‘फास्ट ट्र्याक’ बाट छिनोफानो गर्न आदेश दिएको थियो। तर एक वर्ष बितिसक्दा पनि टुंगोमा पुगेको छैन।







