नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी थुनामुक्त

जनता संवाददाता
२०८२ बैशाख १७ गते, बुधबार

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले रेशम चौधरी भर्खर थुनामुक्त भएको जानकारी दिए ।

बुधबार दिउँसो नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिचको पार्टी एकता घोेषणा सभामा पुग्नुभएका चौधरीलाई सर्वोच्चको फैसला बमोजिम भन्दै प्रहरी पक्राउ गरेको थियो ।

तत्पश्चात् सर्वोच्च अदालतका सह–रजिष्ट्रार अच्युत कुइकेलले रेशम चौधरी सम्बन्धमा कैदमा राख्न कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र आधिकारिक नभएको भन्दै प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टमाथि अनुसन्धान गर्न आदेश जारी गरेसँगै विष्ट पक्राउ परेका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते, बुधबार


Scroll to Top

Janata Media