नाउपाद्वारा सुदूरपश्चिम मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता

जनता संवाददाता
२०८० चैत्र १४ गते, बुधबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय टीकापुरमा बुधबार बसेको संस्थापक केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

‘सुदूरपश्चिम प्रदेश सभामा कमलबहादुर शाहको सरकारलाई समर्थन दिँदा पनि बहुमत पुगाउन नसकिने देखियो’ पार्टीको संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले भने, “सङ्घीय सरकारमा विश्वासको मत दिएर पनि बाहिर रहनु पर्ने र अन्य प्रदेशमा पनि सरकारमा सहभागी हुन कठिन हुने भएकाले यस्तो निर्णय लिइएको हो ।’

पार्टीका संरक्षक रेशमलाल चौधरीको इच्छा सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने र संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ नयाँ गठबन्धनमा जाने चाहना राखेकाले विवाद रहँदैआएको थियो ।

केन्द्रीय सदस्य विश्वकर्माले पार्टीमा दुई धार देखिए पनि अहिले नागरिक उन्मुक्तिले पार्टीको हित र जनताको हितमा काम गर्न नयाँ गठबन्धनमा जानु उपयुक्त भएको ठहर गरेको बताए ।

पार्टीका संरक्षक नेता रेशमलाल चौधरी जापान भ्रमणमा हुनुहुन्छ । यहाँले यसअघि सुदूरपश्चिममा शाह नेतृत्वको सरकारलाई समर्थन रहने भन्दै पाँच जनालाई मन्त्री नियुक्त गराएका थिए । उनले संसदमा पनि विपक्षमा रहने चाहना राखे पनि संसदीय दलका नेता तथा संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिलाए थिए ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते, बुधबार


Scroll to Top

Janata Media