बाजुराको हिमालीमा भिरबाट लडेर ३८ बर्षिया महिलाको मृत्यु

जनता संवाददाता
२०८० चैत्र २२ गते, बिहीबार

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । हिमाली गाउँपालिका वडा नं ५ रुगिनकी आपसरी बुढथापाको आज भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको बालभिटा भन्ने बनमा गाईगोरुलाई घाँस काट्न गएकि ३८ बर्षिया बुढथापाको भिरबाट लडेर मृत्यु भएको वडाअध्यक्ष प्रदिप बुढथापाले जानकारी दिए । उनका अनुसार आज विहान करिब १० बजे तिर रुगिनको बालभीटा भन्ने बनमा उहाँ घाँस काट्न गएको थियो । विहान सबेरै घरबाट घाँस काट्न गएकि वुढथापा अबेर सम्म नर्फिएपछि खोजितलासि गर्ने क्रममा दिउसो २ वजे तिर लडेर मृत्यु भएको अवस्था फेला पारेको आफन्त धनबहादुर भण्डारीले बताए ।

घर भन्दा करीव पाचँ सय मिटर टाढा रहेको बालभिटा भन्ने भीरबाट लडेको अवस्थामा ८० मिटर तल शव फेला परेको उनले बताए । मृतक वुढथापाका श्रीमान सहित १ छोरा र २ छोरी गरी ४ जनाको परिवार छ । मृतक बुढथापालाई हिमाली गाउँपालिकाको एम्बुलेन्स मार्फत पोष्टमाटर्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुर्याइएको छ । विकट भुगोल र भीरपाखाका कारण ग्रामिण क्षेत्रका महिलाले भिरबाट लडेर अकालमा ज्यान गुमाउनु परेको छ । बाजुराका महिलाले वर्षेनि भिरबाट लडेर अकालमा ज्यान गुमाउँदै आएका स्थानियले बताएका छन ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते, बिहीबार


Scroll to Top

Janata Media