ताप्लेजुङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्थिरताका कारण राष्ट्रियता कमजोर भएको बताएका छन् । गत निर्वाचनमा कसैको बहुमत नआउँदा अस्थिरता सिर्जना भएको र अस्थिरताले राष्ट्रियता कमजोर हुँदै गएको ओलीले बताएका हुन् ।
बिहीबार ताप्लेजुङ गएका अध्यक्ष ओलीले अस्थिरताको अन्त्य गर्न र राष्ट्रियता मजबुद बनाउने लक्ष्यसहित एमालेले ‘मिसन २०८४’ को अभियान सुरु गरेको बताए। सदरमुकाम फुङ्लिङस्थित एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने र राजनीतिक अस्थिरताको अन्त्य गर्ने दाबी गरे।
एमालेले एकल बहुमत ल्याउनेगरी मिसन २०८४ अभियान सुरु गरेको उनले बताए। पार्टीले लिएको लक्ष्यअनुसार मिसन २०८४ लाई सफल बनाउनेगरी एक ढिक्का भएर अभियानमा लाग्न कार्यकर्तालाई उनले निर्देशन पनि दिए। उनले साना–तिना विषयमा अलमल नगरीकन जनप्रतिनिधिसहितका कार्यकर्तालाई पार्टीको योजनामा सक्रिय हुन आग्रह गरे।
अध्यक्ष ओलीले यसअघि एमालेविरुद्ध गठबन्धन गरिएकाले अस्थिरता बढ्नुका साथै राष्ट्रियता झनै कमजोर भएको जिकिर पनि गरे। अघिल्लो गठबन्धनकै कारण देशमा विकास निर्माण ठप्प भएको, अर्थतन्त्र धराशायी बनेको, भ्रष्टाचार मौलाएकोजस्ता आरोप पनि उनले लगाए। अब भने एमालेसहितको नयाँ गठबन्धन सरकार निर्माण भएकाले विकास निर्माण चलायमान हुने, अर्थतन्त्रमा सुधार हुँदै जाने र भ्रष्टाचारजस्ता बेथिति नियन्त्रण हुँदै जाने उनले बताए।
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीसँगै आएका उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि वर्तमान सरकारले विकास निर्माणसहित देशको हितलाई केन्द्रमा राखेर काम गर्न सुरु गरेको बताए। नयाँ गठबन्धन सरकार बनेपछि विकास निर्माणको कामले गति लिन सुरु गरेको र जनतामा सुशासनको प्रत्याभूति हुन थालेको मन्त्री महासेठले दाबी गरे।
ओलीसँगै एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, रक्षामन्त्री हरि उप्रेती लगायतका एमाले नेताहरू बिहीबार ताप्लेजुङ गएका हुन्। एमाले ताप्लेजुङको पार्टी कार्यालय तथा मदन भण्डारी स्मृति प्रतिष्ठानको नवनिर्मित भवनको उद्घाटन गर्न उहाँहरू ताप्लेजुङ गएका हुन्। पूर्वप्रधानमन्त्री ओलीसहितको टोलीले निर्माणाधीन ताप्लेजुङ–टिपताला तमोर कोरिडोर सकडको निरीक्षण गरेका छन्।







