कतार भ्रमणमा विपिन रिहाइको मुद्दा उठाउँछु : प्रधानमन्त्री प्रचण्ड

जनता संवाददाता
२०८१ बैशाख ९ गते, आईतवार

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताएका छन् ।

कञ्चनपुरको महेन्द्रनगरमा आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जोशीको रिहाइका लागि कतारका अमिरले खेल्नसक्ने भूमिकालाई एजेन्डामा राखिएको बताए । “प्रभावित विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले तदारुपतापूर्वक भूमिका निर्वाह गरिरहेको छ”, उनले भने, “आजै बिहान मात्रै कुवेतको एउटा टेलिभिजन अन्तर्वार्तामा मैले कतारले जोशीको रिहाइका लागि गर्नसक्ने भूमिकाबारे बोल्दै त्यस पहलका लागि माग गरेको छु ।”

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा प्यालेस्टाइन विद्रोहीको आक्रमणबाट विद्यार्थीहरुले ज्यान गुमाएको उक्त घटनाले निकै दुःखी तुल्याएको उनको भनाइ थियो ।

त्यसैगरी सम्बोधनका क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ, व्यावहारिक, जीवन उपयोगी तथा सामाजिक रुपान्तरणका लागि सहयोगी हुनुसक्नुपर्ने बताए ।

“सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा पनि मैले पहिलो चोटी प्रधानमन्त्रीको हैसियतले भूमिका खेल्ने अवसर प्राप्त गरेको थिएँ”, उनले भने, “अहिले सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्यविज्ञान विश्वविद्यालय निर्माण गर्ने निर्णय गर्न पाउँदा गर्व महसुस भएको छ ।”

शिक्षासम्बन्धी हक कार्यान्वयन गर्न सबैको प्रतिबद्धता आवश्यक रहेको बताउँदै उनले सुदूरपश्चिम क्षेत्रको निम्न तथा मध्यम आय भएका विद्यार्थीहरुलाई गुणस्तरीय उच्चशिक्षा प्रदान गरी उनीहरुको जीवनमा विश्वविद्यालयले महत्त्वपूर्ण योगदान पुर्‍याएको जानकारी दिए ।

सो क्रममा विश्वविद्यालयमा विभिन्न पदक प्राप्त विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्डले पदक वितरण गरे । दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति सुमना श्रेष्ठ, भारतको उत्तराखण्डस्थित कुमाउँ विश्वविद्यालयका प्राध्यापक दिवानसिंह रावतले पनि आफ्नो धारणा राखेका थिए ।

उक्त समारोहमा तीन सय ७६ विद्यार्थी दीक्षित भएको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २०८१ बैशाख ९ गते, आईतवार


Scroll to Top

Janata Media