‘लाज शरणम्’ का बालकलाकारको कुपोषणबाट निधन

जनता संवाददाता
२०८१ चैत्र २० गते, बुधबार

काठमाडौँ । महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ।

मंगलबार फिल्मका निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जानकारी दिए। वि.सं. २०६६ साउन १ मा जन्मिएका केसीको मंगलबार (चैत १९) मा निधन भएको हो।

फिल्ममा वास्तविक कुपोषित बालकको चरित्रमा देखिएका केसी कर्णाली क्षेत्रका बासिन्दा थिए। उनको जटिल कुपोषणको उपचारका लागि सुटिङपछि ग्रीन सिटी अस्पताल ल्याइएको थियो।

अस्पतालले कान्ति बाल अस्पताल रिफर गरे पनि त्यहाँ उपचार सम्भव नभएको भन्दै फर्काइएको थियो। फिल्म टोलीले सुटिङका क्रममा उनको स्याहार, खानेकुरा, लत्ताकपडा र परिवारको सहजताका लागि मोबाइलसहित सहयोग गरेको थियो।

गीतकार वसन्त उदासको सहजीकरणमा उनको उपचार र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता पूरा गर्न खोजिए पनि सफल हुन नसकेको टोलीले जनाएको छ।

निर्देशक कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्, “कुपोषणबाट नेपालमा अझै बालबालिकाले ज्यान गुमाइरहेका छन्। विकासको मृत्युले हामीलाई स्तब्ध बनाएको छ। यो घटनाले कर्णालीको कष्टकर जीवन र बाल मृत्युदरप्रति सरकारको ध्यान जाओस्।”

उनले फिल्ममार्फत कर्णालीको वास्तविकता उजागर गर्न खोजिएको र कला क्षेत्रबाट कुपोषणविरुद्ध आवाज उठाइरहने प्रतिबद्धता जनाए।

फिल्म परिवारले केसीको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। टोलीले सरकार र सम्बद्ध पक्षलाई कुपोषणबाट हुने बाल मृत्यु रोक्न गम्भीर बन्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र २० गते, बुधबार


Scroll to Top

Janata Media